गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि आउनुभएको होः माधव नेपाल

संवाददाता
२३ चैत्र २०८१, आईतवार १५:११

२४ चैत्र, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताउनु भयो । उहाँले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गर्नुभयो । कोईराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताउनु भयो ।
अध्यक्ष नेपालले पछिल्ला घटनाक्रमहरुप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उहाँको भनाइ छ । पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै उहाँले राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौति दिनुभयो ।
अध्यक्ष नेपालले राजाहरुले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गर्नुभयो । उहाँले जनताले रोजेको व्यक्ति भन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताउनु भयो । वंशको शासन कहिले पनि राम्रो नहुने उहाँको भनाइ छ । पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै प्रश्न गर्नुभयो । राजा र उनका नजिककाहरुले देश लुट्न खोजिरहेको आरोप लगाउनु भयो । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताउनु भयो ।
अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताउनु भयो । उहाँले राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गर्नुभयो । उहाँले एमाले—काँग्रेस—नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सुरक्षा दिएपनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*