चणिकलाललाई बागमती प्रदेश सरकारले डेढलाख सहित सम्मान गर्ने
१४ असोज, हेटौँडा । ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै सम्मान गर्न लागेको जानकारी दिनुभयो । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गर्नुभएको थियो ।
तामाङलाई मुख्यमन्त्री लामाले टेलिफोनमार्फत् साहासिक कार्यका लागि धन्यवाद दिदै प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको बताउनुभयो । विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गराएको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको बताउनुभयो ।
तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भुमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउनुभयो । आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने मुख्यमन्त्री लामाले बताउनुभयो ।
प्रदेशका १३ वटै जिल्लामा उच्च सतर्कता
यसैबीच मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्कालिन उद्दार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताउनुभएको छ ।
विपद् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोलि परिचालन गरिएको बताउँदै मुख्यमन्त्री लामाले पीडितको निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । तत्कालिन राहत र अस्थायी बसोबासका लागि आवश्यक प्रवन्ध गरिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
बाढी र पहिरोका कारण क्षति भएका राजमार्ग र ग्रामिण सडक दशें अघि नै सुचारु हुनेगरी काम शुरु भइसकेको पनि मुख्यमन्त्री लामाले जानकारी दिनुभयो । प्रदेश भित्रका सबै जिल्लाका सडकहरुको अवस्थाबारे तथ्यांक संकलन भइरहेको र दशैं अघिनै सवारी सञ्चालन हुनेगरी निर्माण थाल्न सरकारले विशेष रणनीति बनाएको मुख्यमन्त्री लामाले जानकारी दिनुभयो ।














