चीनलाई ध्वस्त पार्नकै लागि अमेरिकाले नेपालमा एमसीसी ल्यायोः पूर्व प्रधानमन्त्री खनाल
२६ जेठ, हेटौँडा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाललाई अमेरिकाले चीनविरुद्ध प्रयोग गर्न खोजेको बताउनुभएको छ ।
चीनलाई ध्वस्त पार्नकै लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको उहाँको भनाई छ । नेकपा(एकीकृत समाजवादी) हेटौंडा उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्नुहुँदै नेता खनालले एमसीसी एउटा राष्ट्रघाती र अपमानजनक सम्झौता भएको बताउनुभयो । एसपीपी मार्फत् नेपाललाई सैनिक अड्डा बनाउन अमेरिकी शक्तिहरु अझै तल्लिन रहेको उहाँको भनाई छ । नेता खनालले अमेरिकी साम्राज्यवादीको शक्तिहरु समाप्त भइ नसके पनि विस्तार कमजोर हुँदै गएको जिकिर गर्नुभयो ।

नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी हाबी हुँदै गएको बताउनुभयो । कम्युनिष्ट नेताहरुमा सैद्धान्तिक र राजनीतिक विचलनहरु प्रकट भएको उहाँको भनाई छ । उहाँले राष्ट्रमा सामन्तवादी शोषण अन्त्य भएपनि पुँजीवादी शोषण भने भयावह रुपमा फैलिरहेको बताउनुभयो । पुँजीवादले सामाजिक विभेद र भ्रष्टचारलाई संरक्षण गर्दै विस्तार गर्ने भएकोले समाजवादको स्थापना अनिवार्य नै भएको नेता खनालको भनाई छ ।
नेता खनालले आफुहरुले नेकपा एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न अझै पनि बाँकी रहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान समेत गरिएको थियो ।














