जनताको आधारभूत आवश्यकता पुरा गर्न एमालेको सरकार अपरिहार्यः मन्त्री श्रेष्ठ
१३ वैशाख, हेटौँडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठले जनताले खोजेको विकास एमालेले मात्रै गर्न सक्ने बताउनुभएको छ ।
जनताले चाहेको स्थिर सरकार र विकास एमालेको नेतृत्वबाट मात्रै प्राप्त हुने मन्त्री श्रेष्ठको भनाई छ । नेकपा एमाले मनहरी गाउँपालिका वडा नम्बर ६ को वृहत कार्यकर्ता भेला तथा वडा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले जनताको आधारभूत आवश्यकता पुरा गर्न एमालेको सरकार अपरिहार्य रहेको बताउनुभयो ।
२०७४ को निर्वाचनपछी बनेको एमाले सरकारले जनताले अनुभुति गर्ने खालका थुप्रै विकासका योजनाहरुको सुरुवात गरेको स्मरण गराउदै मन्त्री श्रेष्ठले त्यसपछिको स्वार्थयुक्त राजनीतिक फेरबदल संगै एमालेले अघि सारेका सबै योजनाहरुलाई रोक्ने काम भएको जिकिर गर्नुभयो ।
सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न पनि एमालेको एकल बहुमतको सरकार जरुरी रहेको उहाँको भनाई छ । यसैगरी मन्त्री श्रेष्ठले प्रदेशका जनताको खानेपानी र कृषि क्षेत्रमा सिंचाइ सुविधा पुर्याउने गरि आफुले काम गरिरहेको बताउदै आगामी वर्षको लागि खानेपानी र सिंचाइ लगाएत अन्य विकासलगाएतका आवश्यक योजनाहरु पेश गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीको तल्लो तहमा रहेर वडा तथा टोलमा एमालेलाई संगठित बनाउन योगदान पु¥याउने पुराना एवं अग्रज ४ जनालाई वडा अधिवेशनका क्रममा सम्मान गरिएको थियो ।
यसैगरी माओवादी केन्द्र मनहरी–६ नम्बर वडाका पुर्व अध्यक्ष कृष्ण बहादुर थिङ लगाएत करीब २ दर्जन व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए ।
वडा कमिटीका अध्यक्ष गोपिलाल मुक्तानकोअध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला कमिटी सदस्य विरेन्द्र डिसि, पालिका कमिटी अध्यक्ष नवीन सुवेदी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।














