जनतामा रहेको निराशालाई आशामा बदल्न कांग्रेसले पहलकदमी लिनुपर्छः इन्द्रबहादुर बानिंया
१२ जेठ, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादर बानिंयाले कांग्रेसकै कारण मुलुकमा शान्ति स्थापना र संविधान जारी भएको बताउनुभएको छ ।
कांग्रेसले पहलकदमी लिएकै कारण तत्कालिन माओवादीको १० वर्षे जनयुद्ध अन्त्य भएको उहाँको भनाई छ । सभापति बानिंयाले जनताको खोजेको शान्ति संगसंगै कांग्रेसले ७२ सालमा पनि संविधान पनि जारी गरेर देखाएको दाबी गर्नुभयो । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार उद्घाटन गर्नुहुँदै सभापति बानिंयाले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्ने भाष्य स्थापित हुँदैगएको बताउनुभयो । व्यवस्थाप्रति जनतामा रहेको निराशालाई आशामा बदल्न कांग्रेसले पहलकदमी लिनुपर्ने उहाँको भनाई छ । सभापति बानिंयाले विधि र विधानमा चल्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो । उहाँले कांग्रेसका नेताहरुको विचार र व्यवहार एउटै हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ ख मकवानपुरका सभापति राजेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीको वर्तमान राजनैतिक अवस्थाको बारेमा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, उपसचिव इन्दिरा न्यौपाने, मकवानपुर गढी गाउँपालिका प्रमुख दोर्जे लामा, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।














