जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छः प्रधानमन्त्री दाहाल
२३ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ ।
बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताउनुभएको छ । उहाँले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताउनु भयो । उहाँले हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको दाबी गर्नुभयो । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भुमिका खेलेको भन्दै उहाँले सो भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको बिद्रोह र पहलकदमी भएको उल्लेख गर्नुभयो । उहाँले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिकक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताउनु भयो ।














