जलवायु परिवर्तनका कारण विगत पाँच वर्षमा चार खर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति
१४ जेठ, हेटौँडा । जलवायु परिवर्तनका कारण नेपालले विगत पाँच वर्षमा चार खर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति बेहोरेको छ ।
केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षण २०७९ को प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पाँच वर्षमा ४ खर्ब १५ अरबको आर्थिक क्षती भएको राष्ट्रिय तथ्यांक कार्यालयका वातावरण शाखा निर्देशक प्रमोद राज रेग्मीले जानकारी दिनुभयो । सबैभन्दा धेरै आर्थिक क्षती किरा फट्यांङग्राका कारण बालीनालीमा रोग लागेर उत्पादकत्वमा कमी आउनु, प्राकृतिक प्रकोप, चट्याङ, खडेरी जस्ता रहेका छन् । कार्यालयले सोमबार बागमती प्रदेश राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै ‘नेशनल क्लाइमेट चेन्ज सर्भे २०२२’ प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा जलवायु परिवर्तनका कारण भएका सामाजिक, आर्थिक प्रभावलाई समेटिएको छ । प्रतिवेदन अनुसार, नेपालमा मौसमी तापमान क्रमिक रुपमा बढ्दै आएको देखाइएको छ ।
जलवायु परिवर्तनका कारण उपादकत्वमा प्रभाव पारेको, मानव स्वास्थ्यका साथै बालिनालिमा प्रभाव पारेको छ ।सर्वेक्षणका क्रममा नेपालका ३६ प्रतिशत जनताले जलवायु परिवर्तनको अनुभव गरेको बताएका थिए । नेपालमा हरेक दुई दुई वर्षमा जलवायु परिवर्तनको तथ्यांक सार्वजनिक हुँदै आएको छ । सर्वेक्षणमा २५ वर्षभन्दा बढी समयदेखि एकै क्षेत्रमा बसोबास गरिरहेका ४५ वर्षमाथिका उमेर समूहका व्यक्तिको अनुभवलाई समावेश गरिएको छ । नेपालको २९ जिल्लाका ६ हजार ५ सय ८ घरधुरीमा सर्वेक्षण गरिएको थियो । कार्यक्रममा तथ्यांक कार्यालय मकवानपुरका तथ्यांक अधिकृत राघिनी कुमारी वर्मा, सिन्धुलीका तथ्थ्यांक अधिकृत राजेश दास, चितवनका तथ्यांक अधिकृत विमल कुमार यादव लगायतको उपस्थिती थियो ।














