जेठ १६ गतेदेखि २२ गतेसम्म विश्व वातावरण दिवस मनाइने
१५ जेठ, हेटौँडा । ५३ औं विश्व वातावरण दिवस हेटौंडामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै टोल विकास संस्था नगर समन्वय समितिले जेठ १६ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाउन लागिएको जानकारी दिएको छ । यस वर्ष सप्ताहव्यापी रुपमा ‘प्लाष्टिक प्रदुषण नियन्त्रण गरौँ’ भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको समितिका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेठ १६ गते हेटौंडा उपमहानगरपालिकामा रक्तदान कार्यक्रम गरिने भएको छ ।
जेठ १७ गते सफा हेटौंडा अभियान अन्र्तगत टोल विकास संस्थाहरुमा बृहत सरसफाइ कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । त्यसैगरी जेठ १८ गते हेटौंडाका सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगिता र प्रकृति सम्वाद यात्रा २०८२ गरिने भएको छ । जेठ १९ गते बोत्तल देउ, विरुवा लिउ कार्यक्रम हेटौंडा ८ स्थित औद्योगिक क्षेत्रको खेल मैदानमा गरिने भएको छ । यसैगरी जेठ २० गते रोयल पार्टी प्यालेसमा जलवायु सचेतनाः समस्या र समाधानमा समुदायको भुमिका र हाम्रो प्रयास विषयमा प्यानल डिस्कसन हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।
सोही दिन हेटौंडा ८ स्थित चन्द्रोदय माविमा वृक्षारोपण कार्यक्रम समेत हुनेछ । त्यसैगरी जेठ २१ गते उपमहानगरको सभाहलमा यदि म हेटौंडाको मेयर भए भनेः मेरो सहरलाई कसरी सफा र प्लाष्टिक रहित बनाउँछु भन्ने विषयक भिडियो प्रतियोगिता हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन रोयल पार्टी प्यालेसमै विद्यालय स्तरीय खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा समेत हुनेछ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ २२ गते बिहान ७ बजे हुप्राचौरबाट बाजागाँजा, झाँकी सहितको वातावरणीय सचेतनामुलक ¥याली, सम्मान, पुरस्कार वितरण तथा कार्यक्रमको समापन गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत हुने विभिन्न प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीय हुनेलाई ७ हजार ५ सय, तृतीय हुनेलाई नगद ५ हजार र सान्त्वना हुने ३ जनालाई जनही २ हजार प्रदान गरिने भएको छ । सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्न ६ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।














