ढुवानीमा भ्याट तिर्नुपर्दा सामान बोक्नै नपाएको यातायात व्यावसायीहरुको गुनासो
२२ मंसिर, हेटौँडा । सामान ढुवानी गर्दा मुल्य अभिबृद्धी करको विजक लिएर सामान ढुवानी गर्नुपर्ने नियम कार्यान्वयन नहुँदा भ्याटमा दर्ता भएका सवारी साधनले सामान पाउनै मुश्कील हुने गरेको गुनासो यातायात व्यवसायीले गरेका छन् ।
उद्योगीले प्रतिस्पर्धाका नाममा यातायात ब्यवसायीलाई विजक नदिई ट्रान्सपोर्टका नाममा मात्रै विजक जारी गर्दा समस्या देखिएको हो । उद्योगीबाट भ्याट बील लिने ढुवानी ब्यवसायीले यातायात ब्यवसायीलाई भ्याट बील नदिँदा समस्या देखिएको हो । सवारी साधनले भ्याट बील बीना सामान ढुवानी गर्दा पनि राजस्व र प्रहरीले अनुगमन नगर्दा ब्यवसायी मारमा परेका छन्् । राज्यले अनुगमन गरेपनि भ्याट बील नदिने उद्योगीलाई कारवाही नगर्ने तर यातायात ब्यवसायीसंग नै जरिवाना गर्ने प्रबृत्तीले यातायात ब्यवसायी मारमा परेको नारायणी यातायात ब्यवसायी कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले बताउनुभयो ।
कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरी कानून कार्यान्वयन हुने वातावरण बनाउन राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । सवारी साधनले मूल्य अभिवृद्धि कर विना मालसामान लोड गरे मात्र ढुवानी गर्न पाउने नत्र मालसामान लोड गर्न सामान नै नपाउने अबस्था उद्योगी व्यपारीले श्रृजना गरेको भन्दै कम्पनीले विरोध गरेको हो ।
यस्तो अवस्था जारी रहँदा मूल्य अभिवृद्धि करमा दर्ता भएका यातायात ब्यवसायी समस्यामा परेका छन् । यथासिघ्र समस्या समाधान नभएमा आन्दोलनमा जाने व्यवसायीले चेतावनी दिएका छन् ।














