तीनजना उपप्रधानमन्त्री सहित नवनियुक्त मन्त्रीहरुले शपथ लिए

संवाददाता
२३ फाल्गुन २०८०, बुधबार २१:१०

२३ फागुन, काठमाडौँ । नवनियुक्त उप–प्रधानमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीका सांसद्हरु समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त उपप्रधान र मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् ।
नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच वटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार वटा र नेकपा एकीकृत समाजवादीले दुई वटा मन्त्रालय पाएका छन् । योसँगै २० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । नेकपा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, राजेन्द्रकुमार राई खानेपानी मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वालाकुमारी साह कृषिमन्त्री बन्नुभएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा– सञ्चार तथा सूचना प्रविधि मन्त्री र हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र डोलप्रसाद अर्याल (डीपी) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्नुभएको छ ।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरूको नाम दिइसकेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा नजाने घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*