तीन वटा विद्यालय एकैदिन बालमैत्री घोषणा हुँदै
२० फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका भित्रका तीन वटा विद्यालयलाई एकैदिन बालमैत्री विद्यालय घोषणा गर्ने तयारी गरिएको छ ।
उपमहानगरले तोकेको बालमैत्री विद्यालयका सूचक पूरा गरेका एउटा संस्थागत र दुईवटा सामाुदायिक विद्यालय फागुन २२ गते बालमैत्री विद्यालय घोषणा हुन लागेको हो । बालमैत्री विद्यालय घोषणाको लागी आवश्यक ११ सूचक भित्र उल्लेखित २६ बुँद्धे कार्यहरु विद्यालयले पूरा गरेको चन्द्रोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले जानकारी दिनुभयो । नगर शिक्षा विकास महाशाखाबाट फागुन २ गते नै बालमैत्री विद्यालय घोषणा मापडण्ड विद्यालयले पूरा गरेको प्रमाणपत्र प्राप्त भएको भएपनि विद्यालयको स्थापना दिवसको दिन बालमैत्री विद्यालय घोषणाको तयारी गरिएको उहाँले बताउनुभयो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले २०७९ असार ३ गतेदेखि बालमैत्री विद्यालय बनाउन बालमैत्री सूचकहरुलाई कार्यान्वयनमा ल्याएको प्रधानाध्यापक ढकालले बताउनुभयो । बालसमूहकी अध्यक्ष सुप्रिया मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा ८ नम्बर वडाका वडा अध्यक्ष रामकृष्ण थापाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै हेटौंडा ८ का वडा अध्यक्ष थापाले ८ नम्बर वडालाई निकट भविष्यमै बालमैत्री वडा घोषणा गरिने बताउनुभयो ।

यस्तै, हेटौंडा १६ स्थित जनप्रीय माध्यामिक विद्यालय पनि २२ गते बालमैत्री विद्यालय घोषणा हुँदैछ । २२ गते बिहान ९ बजे नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने आइतबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । घोषणा मात्रै नभएर दीर्घकालिन रुपमा कार्यान्वयनमा ल्याउन समेत विद्यालयले योजना बनाएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो । बालबालिकाको सर्वाङ्गिण विकास गराउन बाल अधिकारका क्षेत्रहरुलाई अक्षरशः पालना गर्नुपर्ने बताउँदै प्रधानाध्यापक चौलागाईले विद्यालयले बालमैत्री विदालयका सबै सूचक पूरा गरेको जानकारी दिनुभयो । गत आर्थिक वर्षको फागुन ६ गते बाल क्लब गठन सँगै विद्यालयले बालमैत्री अभियानको थालनी गरेको हो । बालमैत्री विद्यालय घोषणाको तयारीले शिक्षक विद्यार्थीमा सकारात्मक परिवर्तन आएको उहाँले बताउनुभयो । विद्यालयमा १ हजार ८ सय विद्यार्थी रहेका छन् । हेटौडा उपमहानगरका सामाजिक विकास संयोजक एवं १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो । फागुन २२ गते नै हेटौंडा २ स्थित बालजागृती इग्लिस बोर्डिङ स्कुल पनि बालमैत्री विद्यालय घोषणा हुँदैछ ।














