थाहामा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
१ जेठ, हेटौँडा । थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ ।
नगरपालिकाको विकास आयोजना निर्माणका लागि स्थानीय राजनीतिक दल तथा सरोकारवालाहरुसंग अन्तरक्रिया शुरु भएको छ । वैशाख २७ गते नगरस्तरीय राजनीतिकदलहरुसंग छलफल गरेको पालिकाले जेठ १ गते वडाध्यक्षहरु सहित दलहरुसंग छलफल भएको छ ।
नगरपालिकाको १२ वटै वडाबाट संघ तथा प्रदेशमा माग गर्ने योजनाहरुलाई साझा बनाउन बैठकमा विशेष छलफल भएको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिनुभयो । नगरपालिकामा भएको छलफलमा वडाध्यक्षहरुले आवश्यकता र प्राथमिकताको आधारमा योजनाहरु नगरपालिकामा संकलन गरेको विषयमा समेत छलफल भएको थियो । नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशसंग माग गर्ने योजनाहरु सबैको साझा योजना हुने सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

छलफलमा नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोदकृष्ण जोशीले अब पालिकाको ब्राण्ड क्लियर गरेर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले वडा तथा टोलबाट योजना माग गर्नेको संख्या धेरै रहेकोले प्राथमिकताको आधारमा नगरले सबैको तर्फबाट साझा योजना प्रदेश सरकार समक्ष माग गर्नुपर्ने बताउनुभयो । यसैगरी नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद लामाले सडक निर्माण केन्द्रित योजनाहरु भन्दा फरक तरिकाले पनि योजना छनोट हुनुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी थाहानगरका अध्यक्ष जयराम खत्रीले युवा रोजगार, सीप विकास र अनुसन्धनात्मक कार्यक्रमहरु पनि योजनामा पर्नुपर्ने उल्लेख गर्नुभयो ।

छलफलका क्रममा नगर प्रमुख विष्टले नगरपालिकाले प्रदेश सरकारसंग माग गर्ने योजना सबै दल र वडाको साझा योजनाको रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिनुभयो । थाहानगरको जुनसुकै वडाका लागि योजना छनोट भए पनि त्यो थाहामै हुने भएकोले भौगोलिक रुपले असन्तुष्टी व्यक्त नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा थाहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन खालिङ, वडाध्यक्षहरु तथा पालिकाका शाखा प्रमुखहरुको समेत उपस्थिती थियो ।














