थाहा नगरको सिमभञ्याङमा बुद्धको मूर्ति निर्माण

संवाददाता
१० जेष्ठ २०८१, बिहीबार १९:१२

१० जेठ, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्याङमा १८ दशमलब ५ फिट अग्लो शाक्यमूनि बुद्धको मूर्ति निर्माण गरिएको छ ।
२५ सय ६८ औँ बुद्ध जयन्तीको अवसर पारेर बिहिबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । मकवानपुरका समाजसेवी दम्पती सिद्धिलाल श्रेष्ठ र बबिता श्रेष्ठको लगानीमा सिमभञ्ज्याङ बुद्धपार्क विकास समितिले निर्माण गरेको मूर्ति थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा अनावरण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख विष्टले बुद्धको मूर्ति स्थापनाले पर्यटकीय नगरी थाहालाई थप आकर्षक बनाउने बताउनुभयो । मूर्ति निर्माण पश्चात् धार्मिक महत्वका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । नगरप्रमुख विष्टले संस्थागत गर्दै मूर्ति संरक्षण लगायतका कार्यमा नगरपालिका प्रतिबद्ध रहने बताउनुभयो ।


हेटौंडा ११ मा पनि बुद्ध पार्क निर्माण गर्नुभएका श्रेष्ठले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले थाहामा बुद्धको मूर्ति निर्माण गरेको बताउनुभयो । मूर्ति निर्माण गर्नुभन्दा पनि संरक्षण गर्नु महत्वपूर्ण हुने भन्दै संरक्षणमा अग्रसरता देखाउन उहाँले नगरपालिकालाई आग्रह गर्नुभयो । सबैको साथ सहयोग पाएमा आउने दिनमा पनि यस्ता कार्य गर्दै जाने समाजसेवी श्रेष्ठको अठोट छ ।


मुर्ति निर्माणका लागि१५ लाख रुपैयाँ खर्च भएको पार्क विकास समितिका अध्यक्ष अमित पाख्रिनले बताउनुभयो । क्रंक्रिटद्धारा निर्माण गरिएको मूर्ति मकवानपुरगढी ७ सुकौराका मूर्तिकार हर्क बहादुर ब्लोनले बनाउनुभएको हो । उक्त अवसरमा काठमाडौ, बीरगंज र मकवानपुरका लामा गुरुहरुले विशेष पाठ समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*