थाहा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
७ असार, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शुक्रबार नगरपालिकाको १६ औं नगरसभामा नगर प्रमुख विष्णबहादुर विष्टले कृषि, पशु, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगलाई प्राथमिकतामा राख्दै २ सय ३९ बुँदामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । खाद्यान्नमा आत्मनिर्भर बनाउन मकै र धानको हाइब्रिड विउमा अनुदानको व्यवस्था गर्ने नीति नगरपालिकाले लिएको छ । आलुको घट्दो उत्पादनलाई मध्यनजर गर्दै तालिमको माध्यमबाट कृषकहरुलाई दक्ष बनाई उन्नत जातको विउ उपलब्ध गराई उत्पादन बृद्धि गराउने लक्ष्य रहेको नगर प्रमुख विष्टले बताउनुभयो । त्यसैगरी नीति तथा कार्यक्रममा गाईभैंसीमा नश्ल सुधारको कार्यक्रम सञ्चालन गरी पशुको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उल्लेख गरिएको छ । नगरको विकट वस्तीहरुमा निःशुल्क पशु शिविर सञ्चालन गर्ने नीति नगरपालिकाको रहेको छ ।
त्यस्तै पर्यटकीय क्षेत्रको प्रचारको लागि नगरपालिकाले जाऔं है थाहा क्याम्पियन सञ्चालन गर्ने भएको छ । सिमभञ्ज्याङ र चित्लाङमा पर्यटन सुचना केन्द्रको शुभारम्भ गरिने प्रमुख विष्टले बताउनुभयो । एकल महिला र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय दर्तामा २० प्रतिशत छुट दिने विषयलाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरको १२ वटै वडामा निजी क्षेत्रसंगको समन्वय र साझेदारीमा संयुक्त घुम्ती शिविरहरु सञ्चालन गरिने प्रमुख विष्टले बताउनुभयो ।
आगामी आर्थिक वर्षभित्र संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी शिक्षा तर्फ स्थानीय पाठ्यक्रम थाहा ज्ञानमाला र तामाङ भाषाको पाठ्यक्रमको कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने भएको छ । नगरपालिका कार्यालयको प्रशासनिक तथा अन्य गतिविधिलाई अनलाइन र सफ्टवेयरमा आधारित प्रणाली अपनाइने नीति नगरपालिकाले लिएको छ ।














