थाहा फिल्म फेस्टिबल–२०२३ को तयारी पूरा
९ मंसिर, हेटौँडा । सुन्दर नगरी थाहालाई फिल्म सिटीका रुपमा विकास गर्ने उद्देश्यले शनिबारदेखि सुरु हुने थाहा फिल्म फेस्टिबल–२०२३ को तयारी पूरा भएको छ ।
थाहा कला केन्द्रको आयोजनामा हुन लागेको थाहा फिल्म फेस्टिबल–२०२३ कोलागि हल लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले बताउनुभयो । पर्यटनका लागि फिल्म नारा फेस्टिवलका ६ वटा चलचित्र, १६ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शनी गर्ने तयारी रहेको जोशीको भनाइ छ ।
फिल्म फेस्टिबलका अवसरमा चलचित्र निर्माता, निर्देशक, कलाकार लगायतको सहभागितामा थाहा नगरभित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन, कलाकार सम्मान , निर्माता, निर्देशकसँग अन्तरक्रिया गरिने उपसंयोजक राजिव स्याङतानले बताउनुभयो । फिल्म फेस्टिवलले थाहा नगरकोृ मात्रै नभई उत्तरी मकवानपुरकै पर्यटन प्रवद्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
पहिलो उद्घाटनका दिन थाहा नगरको पर्यटन प्रर्वद्धन हुने बृत्तचित्र प्रदर्शनीको तयारी गरिएको आयोजकले जनाएको छ । आयोजक थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानका अनुसार महोत्सवमा देखाइने सबै सागम्री निशुल्क हेर्ने व्यवस्था मिलाइएको छ ।
मङ्सिर १५ गतेसम्म थाहा जेसिज हलमा हुने फिल्म फेस्टिबलको शनिबार बागमती प्रदेशका उद्योग बाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्नुहुने छ ।














