दुई दिवशीय प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
९ जेठ, हेटौँडा । हेटौंडामा भएको दुई दिवशीय प्रदेश स्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जेठ ८ र ९ गते भएको गोष्ठीमा प्रदेश भित्रका जिल्लाहरुमा देखा परेका सुरक्षा चुनौती, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास सहजीकरण, विपद् व्यवस्थापनको पूर्व तयारी लगायतको विषयमा प्रस्तुतीकरण र छलफल भएको हो । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रदेशभित्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई मजबुत बनाउने गरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । यस्तै नागरिकका गुनासोहरुलाई स्थानीय स्तरमै सुनुवाई गरी नागरिकको सन्तुष्टिलाई अभिवृद्धि गर्ने गरी काम गर्न पनि निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्था, देखा परेको समस्या र भए गरेका कार्यहरु प्रस्तुत गरेका थिए । गृह सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको गोष्ठीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, नेपाली सेनाका रथी अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।














