देशको स्वाधिनता र राष्ट्रियताको रक्षाको लागि देशभक्ती शक्तिहरु मिल्नुको विकल्प छैनः अध्यक्ष नेपाल

संवाददाता
१५ बैशाख २०८१, शनिबार १८:१४

१५ वैशाख, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अझै पनि लोकतन्त्रको रक्षा गर्ने चुनौती विद्यमान रहेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरु सल्बलाउँदा गणतन्त्र, लोकतन्त्र र संघियता माथि नै चुनौती थपिएको बताउनुभयो । पार्टीको मकवानपुरको ९ औं जिल्ला अधिवशेनलाई शनिबार हेटौंडामा सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरू संविधानविरूद्ध नै लागेको आरोप लगाउनुभयो । उहाँले लोकतन्त्रवादी र संविधानका पक्षधरहरु प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध हुनुपर्ने जिकिर गर्नुभयो । देशको स्वाधिनता र राष्ट्रियताको रक्षाको लागि पनि सबै देशभक्ती शक्तिहरु मिल्नुको विकल्प नभएको उहाँको भनाई छ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति इंगित गर्दै अध्यक्ष नेपालले नेतृत्वमा अहंकार बढ्दा झण्डै दुई तिहाइको बहुमतको सरकारबाट पनि मुलुकको समृद्धि हुन नसकेको जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले देश निर्माण गर्न सबै राजनीतिक दलहरुले बहस चलाउनुपर्ने बताउनुभयो । बालुवाटारमा बैठक हुने बित्तिकै सरकार फेरबदलको कुरा चल्यो भन्ने गलत भाष्यलाई चिर्न पनि नेतृत्व तहमा बसेकाहरुले व्यवहार परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष नेपालले आर्थिक समृद्धिको लागि निर्यातमुखी अर्थतन्त्र हुनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष नेपालले राजनीतिमा लुटेराहरुलाई कुनै पनि ठाउँ नभएको समेत बताउनुभयो । राष्ट्रलाई बर्बाद पार्नेहरुको आफ्नो पार्टीमा कुनै स्थान नभएको समेत उहाँले स्पष्ट पार्नुभयो ।


अध्यक्ष नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउने गरी नबनाएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा पार्टीको गतिविधिलाई प्रकाशन गरेको भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई सम्मान समेत गरिएको थियो । पार्टीका मकवानपुर अध्यक्ष विष्ण दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपमहासचिव एवम् बागमती प्रदेश इन्चार्ज डा.गंगालाल तुलाधार, स्थायी कमिटी सदस्य विरोध खतिवडा, पोलिटब्युरो सदस्य ललित बस्नेत, मकवानपुर इन्चार्ज मुनु सिग्देल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*