देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको छः महामन्त्री थापा

संवाददाता
१८ पुष २०८०, बुधबार १८:३३

१८ पुस, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताउनुभएको छ ।
बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताउनुभयो । उहाँले राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गर्नुभयो । उहाँले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताउनु भयो । उहाँले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको उल्लेख गर्नुभयो ।
महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास शुरु भएको पनि उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताउनु भयो । उहाँले पुराना नेतृत्वसँगको प्रतिष्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिष्पर्धा गर्ने संकेत गर्नुभयो ।
महामन्त्री थापाले पूर्वकर्मचारीहरुको ज्ञान र सिपलाई सरकारले उचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*