नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन्ः उपाध्यक्ष भुसाल
२५ फागुन, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छेपनि भएकाले शुद्ध नभएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको टिप्पणी गर्नुभयो । उहाँले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पु¥याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभयो । उपाध्यक्ष भुसालले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताउनु भयो । उहाँले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताउनु भयो ।
उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताउनु भयो । उहाँले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने उल्लेख गर्नुभयो । उहाँले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पु¥याउनुपर्ने बताउनु भयो । उहाँले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताउनु भयो ।
उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताउनु भयो ।














