नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रको निर्णय

संवाददाता
२१ फाल्गुन २०८०, सोमबार १२:१४

२१ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडी बढ्ने निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउँदै ध्रुविकरणको दिशामा लैजानका लागि नयाँ गठबन्धन गर्न लागिएको बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको बजेट, नीति तथा कार्यक्रममार्फत सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको बताउनु भयो ।
सचिव पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताउनु भयो । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि काँग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उहाँको भनाई छ ।
उहाँले नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने नसमेट्ने स्पष्ट पार्नुभयो । गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)लाई भने गठबन्धनमा ल्याउन प्रयास भइरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*