निजामति सेवा ऐन चाँडै संसदबाट पारित हुन्छः प्रधानमन्त्री ओली
२२ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरै भन्दा धेरै छलफल गरी चाँडै पास गर्ने बताउनुभयो । उहाँले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको उल्लेख गर्दै सरकारले सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जिम्मेवार दुई राजनीतिक दलहरु मिलेर बनेको सरकार भएकाले सबैलाई सहमतिमा लिएर विधेयक पारित गर्ने उल्लेख गर्नुभयो । उहाँले अब निजामति सेवा ऐनलाई ऐनको रुप दिनका लागि विधेयक पारित गरेर अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताउनुभयो ।














