निर्माण व्यवसायी महासंघको साधारणसभा शुक्रबारबाट हेटौंडामा हुने
१५ चैत्र, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा वागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।
बिहीवार हेटौँडामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । २५ औं वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताउनु भयो । उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतकोे उपस्थिति रहने उहाँले बताउनु भयो । साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने बताउनु भयो । २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्वपूर्ण हुने लक्ष्य लिएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगले अहिले भोगिरहेको समस्या समाधान गर्नु नै महासंघको मुख्य चुनौति रहेको बताउनु भयो । श्रोत सुनिश्चितता गरेको र श्रोत व्यवस्थान नगरेका ५ खर्बका आयोजनाहरु रहेको भन्दै महासंघको सबैभन्दा ठूलो चुनौति नै श्रोत व्यवस्थापन नहुँदा आएका समस्या रहेको बताउनु भयो । उहाँले नदीजन्य र खानीजन्य निर्माण सामग्रीको सही ढंगले व्यवस्थापन नभएको कारणले पनि निर्माण उद्योगले चुनौतिहरु खेपिरहेको बताउनु भयो ।
अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले नियमित रुपमा पाउनुपर्ने २० अर्ब भुक्तानी अझै प्राप्त गर्न नसकेको बताउनु भयो । म्याद थप भइसकेपछि सिर्जना हुने थप ४० अर्ब रुपैयाँ भुक्तानी पनि सरकारले व्यवस्थापन गर्नेमा अर्थमन्त्री वर्षमान पुनले प्रतिवद्धता जनाउनुभएको अध्यक्ष सिंहले जानकारी गराउनुभयो । निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने बताइएको छ । साधारण सभाका लागि १ करोड खर्च हुने आयोजकको अनुमान छ ।














