निर्वाचनको लागि हेटौंडामा मतदान केन्द्र तयार
१० माघ, हेटौँडा । माघ ११ गते हुने राष्ट्रिय सभाका सदस्य पदको निर्वाचनको लागि हेटौंडामा मतदान केन्द्र तयार गरिएकोे छ ।
हेटौंडा – ४ स्थित भुटनदेवी माबि को प्राङ्गणमा हुने मतदान प्रक्रियाका लागि सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापन बारे सर्वदलीय बैठक बसेर यस्तो जानकारी दिइएको हो । बुधबार निर्वाचनको अन्तिम तयारी सकिएको जानकारी दिर्दै निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले माघ ११ गते बिहिबार बिहान ९ बजेदखि दिउसो ३ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका लगायत बिशेष अवस्थाका मतदाताहरुलाई सहयोगको व्यवस्था रहेको बताउनुभयो ।

यस्तै यस निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षा निकायहरुसँगको समन्वयमा शान्ति सुरक्षाको व्यवस्था मिलाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले जानकारी दिनुभयो । यस्तै शान्तिपुर्ण रुपले मतदान सम्पन्न गराउनका लागि बुधबारदेखि नै सुरक्षा तैनाथ गरिएको प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिनुभयो । उहाँले भैपरीे हुन सक्ने अप्रिय घटनालाइ मध्यनजर राख्दै सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी दिनुभयो । मतदानका लागि हेटौंडा –४ स्थित भुटनदेवी माध्यमिक बिद्यालयको प्राङगणमा दुइवटा मतदान केन्द्रहरु तयार पारिएको छ ।














