नीति तथा कार्यक्रम राजनीतिक स्थिरताका लागि आएको प्रधानमन्त्री ओलीको दाबी

संवाददाता
२८ बैशाख २०८२, आईतवार १७:०३

२८ वैशाख, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम संघीय संसद्को दुबै सदनबाट पारित भएको छ ।
आइतबार बसेको दुबै सदनको बैठकले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । आईतवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले नयाँ शैली र संस्कृतिका साथ अगाडि बढ्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको दाबी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम राजनीतिक स्थिरताका लागि आएको समेत उल्लेख गर्नुभयो । उहाँले नेपाली जनताले हटाइ सकेको राजतन्त्र पुनस्र्थापनाका लागि हिंसात्मक गतिविधि गरी अराजकतालाई राजनीतिक आचरणको रुपमा स्थापित गराउने खोज्नेहरुलाई परास्त गर्नेगरी नीति तथा कार्यक्रमले मार्ग निदेश गर्ने बताउनुभयो ।
यसैगरी प्रधानमन्त्री ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरबका आयोजनाहरुको पुनरावलोकन गरि चालु परियोजनालाई आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न गरिने बताउनुभयो । उहाँले निर्माणधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटीपूर्ण परियोजना खारेज गर्ने नीतिपनि नयाँ भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रश्ताव गरिएको समेत बताउनुभयो ।
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गर्नुभएको छ । नेपालको संविधान अनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*