नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि
१६ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आईतवार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । प्रधानमन्त्री दाहालले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै पुनःविचार गर्न भने आग्रह गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र आफू अलिकति अस्थिर नभएको भए सम्भव नरहेको पनि जिकिर गर्नुभयो । प्रधानमन्त्री दाहालले आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गर्नुभयो । उहाँले गतिशिलता भनेको के हो ? द्वन्दात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? भन्दै प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री दाहालले माक्सवाद जमेको पोखरी जस्तो नभएको बताउनु भयो । उहाँले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु माक्सवाद भएको बताउनुभयो ।














