नेपालले रसियासंग दुई वटा मैत्रीपूर्ण भलिबल खेल खेल्ने
५ श्रावण, काठमाडौँ । नेपाल र रसियाबीच आईतवार र सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दुई मैत्रीपूर्ण खेल हुँदैछ ।
नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलअगाडि शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान अरुणा शाहीले रसिया भलिबलमा शारीरिक र रणनैतिक रूपमा पनि निकै बलियो टोली रहेकाले यो मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने बताउनु भयो । यसैगरी टोलीका प्रशिक्षक जगदीश भट्टले पनि काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिएको प्रतिक्रिया दिनुभयो । बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ भन्ने कुरा यो मैत्रीपूर्ण खेलबाट सिक्न पाउने प्रशिक्षकको विश्वास छ ।
नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो । १६ सदस्यीय टोलीसहित रसिया नेपाल आइपुगेको हो । नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।














