नेपाली काँग्रेससँग अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार छैनः अध्यक्ष ओली
८ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ ।
काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविनको माग गर्दै संसद बैठक समेत अवरुद्ध गरिरहेको बेला ओलीले त्यसो गर्ने नैतिक आधार काँग्रेससँग नभएको बताउनुभएको हो । ललितपुरमा गोदावरीस्थित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै उहाँले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भिर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउने तयार नहुने काँग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार समेत नराख्ने बताउनु भयो ।
अध्यक्ष ओलीले निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका कुनैपनि विषयमा आफ्नो पार्टी प्रवेश गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भयो । उहाँले सत्ताबाट हटनु परेपछि काँग्रेस आक्रोशित, क्षुब्ध र हतास मनस्थितिमा देखिएको उहाँको भनाई थियो ।
त्यस अवसरमा अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानविन गरी दोषीलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको पनि बताउनुभयो ।














