नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरीः शितल सी
२३ माघ, हेटौँडा । नेकपाका पोलिटब्युरो सदस्य शितल सीले देशमा अब सबै मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरी भएको बताउनुभएको छ ।
नेकपा मकवानपुरको आयोजनामा भएको नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले पछिल्लो समयमा देशमा चौतर्फी रुपले संकट सिर्जना भएकोले त्यसको समाधानको बाटो खोज्न सबै एकजुट हुनुपर्ने जिकिर गर्नुभयो । जनताको आँखा छलेर सदनबाट पास गरेको एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो । साथै लिपुलेक, लिम्पियाधुरा लगायतको नेपाली भूभाग अतिक्रमण रोक्न कडा सिमा सुरक्षा नीति अवलम्बन गर्न गराउन जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण–पूर्व मकवानपुरका इन्चार्ज वाटर सीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रतिनिधि इन्द्र कुमार राई, माओवादी केन्द्र प्रतिनिधि महेश सिन्तान, समाजसेवी आशिष पाख्रीन, बागमती–२ का वडा सचिव तारा नाथ राई, नेकपा बकैया गापा इन्चार्ज मोहन सी लगायतको आतिथ्यता रहेको थियो ।














