पश्चिम नेपालमा गएको भूकम्पबाट हालसम्म १२९ जनाको मृत्यु, १४० घाइते
१८ कार्तिक, हेटौँडा । पश्चिम नेपालमा शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म १२९ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको तथ्याङ्का अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ ।

यसैबीच सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ डाक्टरसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज बिहान टोली त्यसतर्फ गएको जानकारी दिनुभयो । उहाँका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स रहेका छन् । सबै सुरक्षा निकायको समन्वयमा जनप्रतिनिधि र नागरिक समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

यसैगरी कर्णाली प्रदेश सरकारले पनि भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ । सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको हो ।















