पहिलो पटक हुन लागेको एभरेष्ट वुमन्स भलिबल लिगको फ्रेन्चाइज टिम घोषणा
२४ चैत्र, काठमाडौँ । पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) टिमको नाम सार्वजनिक भएको छ ।
आयोजक इनफिनिटी ड्रिम्सले बिहीबार एक कार्यक्रम गर्दै ६ फ्रेन्चाइज टिमको घोषणा गरेको हो । यसका लागि ६ फ्रेन्चाइज टोलीको घोषणा गरिएको छ । काठमाडौं, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेशबाट टिम राखिएको छ । इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ र लिग गरेवापत वार्षिक २५ लाख भलिबल संघलाई दिनेछ । नेपाली भलिबल इतिहासमा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग आयोजना हुन लागेको छ ।
काठमाडौंको प्रवद्र्धकमा शरदकृष्ण टिबरेवाला तथा ललितपुरको प्रवद्र्धकमा अनुज एम तिमिल्सिना, अनुज रिमल र विरोचन खनाल छन् । रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा टिम मधेस रहने भएको छ । गण्डकीको प्रवद्र्धक सौरभ केडिया र टिम चितवनको प्रवद्र्धक निम्बस होल्डिङ हुन् । राजेश बगडिया र प्रतिक अधिकारीले टिम कर्णालीको प्रवद्र्धन गर्ने भएका छन् । काभा महिला भलिबल नेसन्स लिगको सकिएको भोलीपल्टै आयोजकले फ्रेन्चाइज टोली सार्वजनिक गरेको हो ।
इन्फिनिटीका संस्थापक आमिर अख्तरले नेपालमा भलिबल खेल प्रवद्र्धनमा थप टेवा पु¥याउने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न भलिबलको फ्रेन्चाइज लिग शुरु गरेको जनाएको छ । आयोजकले केही दिनमा नै नेपाली खेलाडीको ड्राफ्ट सूचि सार्वजनिक गर्ने भएको छ ।














