पाथीभरा मन्दिरमा ६ फिट अग्लो भैरवको मूर्ति अनावरण
२४ चैत्र, हेटौँडा । हेटौँडा १ भैरवडाँडास्थित पाथीभरा मन्दिरसँगै परिसरमा ६ फिट अग्लो भैरवको मूर्ति अनावरण गरिएको छ ।
शनिबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई लगायतकाले संयुक्त रूपमा भैरवको मूर्ति अनावरण गर्नुभएको हो । मूर्ति अनावरण पश्चात् बोल्नुहुँदै नगर प्रमुख लामाले उपमहानगरले धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकास र आवश्यक पूर्वाधार निर्माणमा सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले धार्मिक पर्यटन विकासमा पाथीभराको महत्त्वपूर्ण योगदान रहने जिकिर गर्दै हेटौँडा आउने पर्यटकलाई घुम्ने र समय बिताउने धेरै पर्यटकीय स्थलहरू रहेको बताउनुभयो । हेटौँडा–७ निवासी समाजसेवी एवम् टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडाको लगानीमा मूर्ति स्थापना गरिएको हो । एउटै ठुलो ढुङ्गामा कुँदेर बनाइएको भैरवको मूर्ति स्थानीय कालिगढद्वारा करिब एक महिना लगाएर निर्माण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै, चैत २७ गतेबाट सुरु हुने नवोदेवी भागवत महायज्ञको पनि शनिबार मेयर लामाले शुभारम्भ गर्नुभएको छ । बाजागाजा, झाँकी सहित कलश यात्रासहित महायज्ञ सञ्चालन गरिने पाथीभरा मन्दिरका पिठाधिश गुरु देवीदासले बताउनुभयो । सप्तशती चण्डी पाठ एवम् नवभागवत पारायण तथा महायज्ञमा ११ जना ब्राह्मणद्वारा नियमित पाठ पारायण समेत गरिने भएको छ । नौ दिन सम्म चल्ने नवभागवत पारायण चैते दसैँका दिन समापन हुने पाथीभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताउनुभयो । मन्दिरमा वैशाख १, ४ र ५ गते महापूजा हुने आयोजकले जनाएको छ ।














