पूरै अवधि काम गरिन्छ, प्रधानमन्त्रीबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री दाहाल
८ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । सरकारमा रहँदा सम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि दोहो¥याउनु भयो ।
प्रधानमन्त्री दाहालले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गर्नुभयो । समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाई गर्ने अवस्था नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो । प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रुपमा विकास गर्ने पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहालले मुलुकलाई समाजवादको बाटो अघि बढाउन हरेकले पहल गर्नुपर्ने आवश्यकत पनि औंल्याउनुभयो ।














