पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर गर्नुपर्छः प्रदेश सभापति बानिंया
१० माघ, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानिंयाले धर्ती रहेसम्म पृथ्वीनारायण शाहलाई बिर्सिन नसक्ने बताउनुभएको छ ।
इतिहासमा व्यवस्थाहरु फेरिए पनि पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर गर्नुपर्ने उहाँको भनाई थियो । मकवानपुर गढीको २ सय ६१ औं बिजय उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति बानिंयाले शाहले नै नेपाललाई बाइसे चौबीसे राज्यबाट अधिराज्य बनाएको जिकिर गर्नुभयो । उहाँले मकवानपुरगढी जस्ता किल्लालाई संरक्षण गर्दै पर्यापर्यटनको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । सभापति बानिंयाले संघीय लोकतान्त्रिक गणतन्त्रकै कारण स्थानीय तहहरुले आफ्नो पहिचान पाएको बताउनुभयो । गढीको पहिचानलाई अझ व्यवस्थित गर्न आफ्नो तर्फबाट खेल्ने भुमिकामा कुनै कमी नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले इतिहासलाई समेत सम्झाउने गरी गढीलाई अब्बल दर्जाको पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले गढीको विकासलाई सबै राजनीतिक दलको नेतृत्वहरु पनि एकजुट हुनुपर्ने बताउनुभयो ।
गढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको सभाध्यक्षतामा भएको विजय उत्सव कार्यक्रममा प्रदेशका पूर्व स्वास्थ्य मन्त्री नीमा लामा, गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मध्यपृतना हेटौँडाका उपरथि प्रदीप जंग केसी, गोरख बहादुर गणका गणपति प्रमुख सेनानी निरन्जन धामी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष वकीलराज बानियाँले नेपालको एकीकरण, पृथ्वीनारायण शाह र समग्र मकवानपुरगढी दरवारको इतिहास र अहिलेको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।














