प्रथम नागश्वती स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रवद्र्धन मेला २०८१ हुने
१७ वैशाख, हेटौँडा । हेटौँडा ७ नागस्वतीमा प्रथम नागश्वती स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रवद्र्धन मेला २०८१ हुने भएको छ ।
नागस्वती युवा क्लबको आयोजनामा यही वैशाख १९ गतेदेखि ३० गतेसम्म हेटौँडा – ७ बेलीब्रिज स्थित नागस्वतीमा मेला हुन लागेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले मेला बारे जानकारी गराएको हो । स्थानीय संस्कृति प्रवद्र्धन तथा कृषि प्रदर्शनी गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको क्लबका अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबाट उद्घाटन गरिने मेलामा मकवानपुर जिल्ला भरिबाट विभिन्न कृषि प्रदर्शनीहरू राखिने र स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ ।
यसैगरी मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न कला, सङ्गीत तथा नाच प्रस्तुतिहरू हुनेछन् । राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, प्रिति आले, ज्योति मगर शान्ति श्री परियार, प्रमोद खरेल लगाएतको सेमत प्रस्तुति रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पहिलो र दोस्रो दिन निःशुल्क प्रवेश रहने यस मेलामा अन्य दिनहरूमा भने प्रवेश शुल्क लिइने आयोजकले जनाएको छ ।














