प्रदेशका १२ जिल्लाका २७ वटा सामुदायिक विद्यालयसंग बस खरीद सम्झौता
२२ कार्तिक, हेटौँडा । दुर्गम भेगका बिद्यार्थीहरुलाई सहजरुपमा स्कुल ल्याउन बागमती प्रदेश सरकारले २७ वटा विद्यालयसंग बस खरिद सम्झौता गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै सामाजिक विकास मन्त्रालयले यो आर्थिक वर्षमा प्रदेशका १२ जिल्लाका २७ वटा सामुदायिक विद्यालयसंग बस खरीद सम्झौता गरेको हो । मन्त्रालयले निर्धारण गरेको मापदण्डका आधारमा छनौट भएका माध्यमिक तहका बिद्यालयसंग खरीद सम्झौता भएको हो ।सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष र शिक्षा विकास निर्देशनालयका प्रमुख दिपेन्द्र सुबेदीले सम्झौतामा हस्ताक्षर गरेका थिए । सिन्धुली बाहेकका १२ जिल्लाका २७ वटा सामुदायिक विद्यालयले बस खरीदका लागी सम्झौता गरेका हुन् । कार्यक्रममा मन्त्री मोक्तानले बिद्यालय बस सञ्चालनबाट बिद्यार्थीहरु सहजै स्कुल आउने वातावरण बनेको बताउनुभयो । सामुदायिक विद्यालय मर्ज हुँदा बिद्यालय आउन घण्टौ हिड्नुपर्ने बालबालिकाका लागि स्कुल बस सहयोगी हुने मन्त्री मोक्तानले दाबी गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुनुका साथै सबै सामुदायिक विद्यालयमा विद्यार्थीको सहभागिता समेत बढ्ने मन्त्री मोक्तानले विश्वास व्यक्त गर्नुभयो ।
बस खरीदका लागि प्रति बिद्यालय २५ लाख रुपैयाँ बजेट छुट्याईएको छ । बागमती प्रदेश सरकारको अनुदान सहयोगमा हाल ७० वटा सामुदायिक विद्यालयले बस सञ्चालन गरिरहेका छन् ।














