प्रदेश उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
२३ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश विश्वविद्यालयको संरक्षक समितिको पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
संरक्षक समितिमा मनोनीत भएका संरक्षण समितिका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ४ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ४ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी बैठकले बन डढेलोमा परेर निधन भएका ललितपुरका २ र रामेछापका १ परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।














