प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
३० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ ।
बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उहाँले विश्वासको मत लिनुभएको हो । २६८ जना सांसदहरु रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धि प्रश्तावको विपक्षमा ११० मत र दिन्न भन्ने पक्षमा एक मत रहेको छ । त्यसअघि संसद्मा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौति दिनुभयो । उहाँले काँग्रेस एमालेसँग मिल्छ भनेर आफूलाई दबाबमा पार्ने भ्रम नपाल्न पनि काँग्रेस नेतृत्वलाई सचेत गराउनुभयो । प्रधानमन्त्री दाहालले काँग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको लागि प्रश्ताव गरेको र आफूले गृहमन्त्री बनाउँदा बिरोध गरेर दोहोरो चरित्र देखाएको आरोप पनि लगाउनु भयो ।
त्यस्तै प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको समेत बताउनुभयो । आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उहाँले आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको जिकिर गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले विगतमा पनि देश संकटमा रहँदा प्रतिपक्ष नभइ सरकारकै सहयोगमा लागेको स्मरण गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतिपक्षमा बस्नेले निहँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुंगिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यक कडी बन्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति समेत दिनुभयो ।














