प्राकृतिक र मानवीय दुबै दुष्टिकोणले नेपाल उच्च जोखिममाः मन्त्री श्रेष्ठ

संवाददाता
१० असार २०८१, आईतवार १३:४१

९ असार, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विपद् जोखिमको हिसाबले नेपाल उच्च जोखिममा रहेको बताउनुभएको छ ।
प्राकृतिक र मानवीय दुबै दुष्टिकोणले नेपाल उच्च जोखिममा रहेको मन्त्री श्रेष्ठको भनाई छ । आइतबार हेटौंडामा भएको स्वय्सेवक सुचना प्रणाली सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले जलवायु परिवर्तनको कारण हिमालका हिउँ पग्लने, समुन्द्री सतह बढ्ने जस्ता समस्याहरु देखापर्न थालेको उल्लेख गर्नुभयो । विश्वव्यापी रुपमा हातेमालो गरी जलवायु परिवर्तनको असर न्युनीकरण नगरे पृथ्वी नै बस्नको लागि योग्य नहुने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रहरु बढी जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।


मन्त्री श्रेष्ठले नेपालको सन्दर्भमा विकासको लागि तयार पारिएका मोडालिटीहरु नै विपद्को प्रमुख कारक तत्व भएको बताउनुभयो । विकासको नाममा बाटो खन्ने, भत्काउने कामले विनाशलाई नै निम्त्याउने उहाँको भनाई छ । त्यसतर्फ सरकार र नागरिक पनि बढी जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । उहाँले भत्काएका ठाउँहरुमा स्तरोन्नति गरी राम्रो ढंगले सञ्चालन गर्ने नीति बनाउन प्रदेश सरकार अग्रसर रहेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले हरेक ठाउँमा विपद् सुरक्षा संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल लगायत प्रदेशका ११ वटा पालिकाका स्वयम्सेवकहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*