बागमती प्रदेशः बजेटको सन्दर्भमा विवाद कायम
१३ फागुन, हेटौँडा । बागमती प्रदेशमा बजेटको सन्दर्भमा सरकार र प्रतिपक्षबीच अझै सहमति जुट्न सकेको छैन ।
बजेटको विषयमा सहमति जुटाउन भन्दै आइतबार सभामुख भुवन पाठकको आह्वानमा बसेको सर्वदलीय बैठकमा सदन सञ्चालनका सन्दर्भमा दलहरूबिच समझदारी भए पनि बजेटका सन्दर्भमा रहेका विवाद भने समाधान हुन सकेको छैन । प्रदेशसभाका प्रतिपक्षी दलहरूले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेका थिए । सहमति अनुसारको बजेट विनियोजन गर्न नसके संसद् बैठक पनि सञ्चालन चल्न नसक्ने चेतावनी प्रतिपक्षी दलहरुले दिएका थिए । एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार पक्षसंग आफुहरुले निरन्तर छलफल जारी राखेको बताउनुभयो । सरकारले गैर जिम्मेवारी पन देखाएको नेता थपलियाले आरोप समेत लगाउनुभयो ।
यद्यपि दलहरु भने फागुन महिना भित्रै संसदीय समितिलाई पूर्णता दिन सहमत भएका छन् । नेतृत्व चयनका लागि बैठकले दलहरूका सचेतकको नेतृत्वमा एउटा कार्यदल समेत गठन गरेको छ । कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको नेकपा (माओवादी केन्द) का मुख्य सचेतक रत्न ढकालले बताउनुभयो । विगतमा प्रतिपक्षी दलसंग भएको सहमतिलाई कार्यान्वयन गर्न सरकारले अधिकतम प्रयास गर्ने पनि उहाँले बताउनुभयो । मुख्य सचेतक ढकालले प्रदेशसभाको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक ढंगले छलफल अघि बढेको पनि दाबी गर्नुभयो ।
दलहरूबिच फागुन १५ गते बिहान ८ बजे पुनः छलफलका लागि बस्ने समझदारी भएको छ । सो दिन दिउँसो ३ बजे संसद् बैठक आह्वान गरिएको छ ।














