बागमती प्रदेशः मृतक परिवारलाई २ लाख, आवास बनाउन १ लाख दिने
१४ असोज, हेटौँडा । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकले विपदबाट प्रभावित प्रदेशभित्र बसोबास गर्ने परिवारलाई राहत तथा क्षतिपूर्ति स्वरुप प्रतिमृतक दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढीपहिरोले आवासविहीन भएका प्रभावित परिवारलाई अस्थायी संरचना निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णय गरिएको नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो ।
बाढीपहिरोले बागमती प्रदेशका १३ जिल्लामा १ सय ३९ जनाले ज्यान गुमाएका छन् । ५५ जना अझै बेपत्ता छन् । २ सय २६ परिवार प्रभावित हुँदा ३१ वटा घरमा पूर्ण क्षति भएको छ ।
सर्वदलीय बैठकले तत्काल उद्दार, राहत र पुर्निर्माणमा जुट्ने निर्णय गरेको पनि सचेतक लम्सालले जानकारी दिनुभयो । बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, भौतिक रुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरु मार्फत वजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।














