बागमती प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने
११ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस, २०८१ तीन दिनसम्म मनाउने निर्णय गरेको छ ।
जेठ १३, १४ र १५ गते विविध कायृक्रम गरी भव्य रुपमा गणतन्त्र दिवस मनाउ तयारी भएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभएको छ । शुक्रबार मन्त्रालयमा ओयोजित पत्रकार सम्मेलनमा मार्फत् मन्त्री श्रेष्ठले गणतन्त्र दिवसका अवसरमा प्रदेश सरकारले गर्ने कार्यक्रम तालिका सार्वजनिक गर्नुभएको हो । तालिका अनुसार जेठ १३ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा गणतन्त्र दिवस सम्बन्धी विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र सोही दिन युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्को आयोजनामा मैत्रीपूर्ण खेलकुद कार्यक्रम गर्ने तय भएको छ ।
त्यस्तै, जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम गर्ने, वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण, सञ्चार रजिष्ट्रारको कार्यालयले प्रदेश सरकारको लगानीमा निर्मित लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गर्ने र १५ गते गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय तथा कार्यालयहरुले परिसर सरसफाइ गर्नेछन् भने नगर क्षेत्रको विशेष सरसफाई हेटौंडा उपमहानगरपालिकाले गर्ने व्यवस्था मिलाईएको छ ।
गणतन्त्र दिवसको दिन जेठ १५ गते भुटनदेवी माध्यामिक विद्यालयको चौरदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्म बाजागाजा सहित प्रभातफेरीको आयोजना गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । प्रभातफेरी पश्चात् प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरिने कार्यक्रम तय भएको छ । दिवसको अवसरमा गणतन्त्र प्राप्तिका लागि सहिद भएका परिवारका सदस्यलाई सम्मान, विभिन्न क्षेत्रका पत्रकारहरूलाई पुरस्कार वितरण गर्ने कायृक्रम रहेको तालिकामा उल्लेख छ । गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनका सचिव पूर्ण बहादुर दर्जी, सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा लगायतको उपस्थिती थियो ।














