बागमती प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन सुरु

संवाददाता
१८ चैत्र २०८०, आईतवार १९:०८

१८ चैत्र, हेटौँडा । हेटौडामा आइतबारदेखि बागमती प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ ।
प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा बागमती प्रदेश उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको संयोजनमा सम्मेलन आयोजना गरिएको हो । ‘महिलाको लगानी घर–घरमा उद्यमी’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको हो । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले संघीयता पछी महिला उद्यमशिलता विकासका लागि संघ, प्रदेश र स्थानीय तहबाट यथेष्ट लगानी भइरहेको बताउनुभयो । उहाँले महिलाको सशक्तिकरणका नाममा भएका लगानी संस्थागत भए नभएको समिक्षा गर्दै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री मोक्तानले लामो समयको संघर्षपूर्ण वलिदानीबाट महिलाले अधिकार पाएको बताउनुभयो । महिलालाई आर्थिक र सामाजिक रुपमा अगाडी बढाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रदेश सरकारले कार्य गरिरहेको उहाँले दाबी गर्नुभयो । सरकारले दिने अनुदान सामान्य जनता कहाँ नपुग्ने र पुगी हालेपनि झन्झटिलो प्रक्रियाका कारण अनुदान नै नलिने परिपाटी रहेकाले सरकार र जनताबीचको खाडल कम गर्नुपर्नेमा मन्त्री मोक्तानको जोड थियो ।


कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, महिला उद्यमी विकास समीति सभापती कमला श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । सम्मेलनको पहिलो दिन स्टार्टअप एन्ड इनोभेसनमा महिलालाई अवसरका बारेमा जुना माथेमाले प्रस्तूतीकरण राख्नुभएको थियो । त्यस्तै, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अमृत श्रेष्ठ र सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकारले महिला उद्यामीसँग सम्बन्धित प्रस्तूतिकरण राख्नुभएको थियो । सोमबार सम्म चल्ने सम्मेलनमा विभिन्न क्षेत्रका उद्यमशिलता सम्बन्धि १३ वटा स्टल रहेको कार्यक्रम संयोजक मेनका श्रेष्ठले बताउनुभयो । जारी सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका १ सय ५० भन्दा बढी महिला उद्यमीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*