बालसुधार गृहलाई युनिसेफको सहयोग
७ चैत्र, हेटौँडा । हेटौंडा ११ स्थित बालसुधार गृहमा विभिन्न प्रकार जिन्सी सामग्री हस्तान्तरण गरिएको छ ।
युनिसेफ नेपालले बुधबार एक औपचारिक कार्यक्रमको बीच केन्द्रिय बाल न्याय समितिको सचिवालय मार्फत साम्रगी हस्तान्तरण गरेको हो । बालसुधार गृहमा रहेका बालविज्याईकर्ताहरुको बृत्ति विकासको लागि सामग्री सहयोग गरिएको युनिसेफ नेपालले जनाएको छ । ४ वटा डेस्कटप सेट, १ थान ल्याप्टप, २ वटा टेलिभिजन र ११ थान कुलर सहित ११ लाख ६६ हजार बराबरको साम्रगी सहयोग स्वरुप प्राप्त भएको बालसुधार गृहका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले बालविज्याईकर्ताहरुले आफुमा रहको सीप विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाल सुधार केन्द्रको व्यवस्थापनको मोडल पनि समयानुकुल परिवर्तन गर्दै लैजानुपर्ने सुझाव समेत आएकोले त्यसतर्फ मनन गरिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, जिल्ला अदालत मकवानपुरका न्यायधिश श्रीप्रसाद सञ्जेल, श्रेस्तेदार लेखनाथ पौडेल, युनिसेफ नेपालका कार्यक्रम सहयोगी सुरेश श्रेष्ठ, बाल समाजसेवी शान्ति मोक्तान लगायतको आतिथ्यता रहेको थियो । त्यसैगरी प्रारम्भिक बाल विकास संस्था मकवानपुरले पनि सुधारगृहलाई आवश्यक पर्ने खाद्यान्न सहयोग गरेको छ । सुधारगृहमा हाल ६७ जना बालविज्याईकर्ताहरु रहेका छन् ।














