बिक्री नभई मौज्दात रहेका काठको मुल्य घटाईयो
२२ जेठ, हेटौँडा । बिक्री नभई मौज्दात रहेका एकलाख ३० हजार क्युफिट टिक र मसलाको काठ बिक्रीका लागि वन पैदावार विकास समितीले बिक्री मुल्य घटाएको छ ।
छिट्टै उत्पादन हुने मसला र टिकको काठ निजी वनहरुबाट उत्पादन हुँदा सरकारी काठ भने गोदाममै थन्कीन थालेका छन् । निजी क्षेत्रले १५ सय क्युफिटमा बिक्री गर्दै आएको टिकको काठ बन पैदावर विकास समितीले भने २१ सय प्रति क्युफिट मुल्य कायम गरेको थियो । एकवर्ष पुरानो टिक काठमा ४ सय र दुई बर्ष पुरानो टिक काठमा ५ सय रुपैयाँ बिक्री मुल्य घटाईएको वन पैदावार विकास समितीका कार्यकारी उपाध्यक्ष राजदेब यादबले बताउनुभयो ।
यस्तै २ बर्ष पुरानो मसला काठमा ७ सय र एकबर्ष पुरानो मसला काठमा ४ सय रुपैयाँ घटाईएको यादबले जानकारी दिनुभयो । समितीमा भएको काठ नबिकेर थन्कीदा यहाँ कार्यरत दुईसय जना कर्मचारीलाई तलब खुवाउन समेत समस्या देखिएको छ । समितीले नेपाल सरकारसंग ८ करोड ८५ लाख रुपैयाँ ऋण सापटी लिएर कर्मचारीको तलब भुक्तानी गरेको थियो ।














