बुधबार हेटौंडामा बृहत् जनप्रदर्शन हुने
२० चैत्र, हेटौँडा । बागमती प्रदेश नाम खारेजीको माग तथा बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ बुधबार हेटौंडामा बृहत् जनप्रदर्शन हुने भएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गत बुधबार हुन लागेको बृहत् जनप्रदर्शनको बारे मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ । राष्ट्रिय मुक्ति क्रान्ति भित्र आबद्ध समान नेपाल,ताम्सालिङ व्यूरो, तामाङ राष्ट्रिय परिषद्, चुरेभावर विशेष व्यूरो, योङ इण्डिजिनिष्ट लिग र तामाङ राष्ट्रिय बाहिनीको संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको हो । विकल्प सहितको संघर्ष र विद्रोहका लागि प्रदर्शन हुन लागेको बुद्ध छिरिङ मोक्तानले बताउनुभयो । सम्पूर्ण उत्पीडित हरुको हक अधिकार स्थापित गर्न पहिलो चरणको आन्दोलन सुरु भएको उहाँले बताउनुभयो । कार्यक्रममा राजेन्द्र महतो र सुमन सायमीले सम्बोधन गर्ने मोक्तानले बताउनुभयो । बुद्धचोकमा हुने प्रदर्शनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा ५ हजार भन्दा बढी पहिचान पक्षधरहरुको उपस्थिती रहने आयोजकको दाबी छ । यसैबीच जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष योग बहादुर ब्लोनले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । जसपा उत्पीडित वर्ग विरोधी भएको आरोप लागाउँदै प्रेस विज्ञप्ति मार्फत् राजिनामा दिएको उहाँले बताउनुभयो । चैत्र २१ गते हुने ताम्सालिङ बृहत् जनप्रदर्शनमा ऐक्यबद्धता जनाउने ब्लोनद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।














