बुबाले देखाउनु भएको इमान र निष्ठालाई आत्मसाथ गर्दै संसदीय भूमिका निर्वाह गर्छुः सुहाङ नेम्वाङ
२६ वैशाख, काठमाडौँ । इलाम– २ को उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले स्वर्गीय बुबा सुवास नेम्वाङले देखाउनु भएको इमान र निष्ठालाई आत्मसाथ गर्दै संसदीय भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।
बुधवार संसदको पद तथा गोपनीयताको शपथ पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै स्वर्गीय बुबा सुवास नेम्वाङले देखाउनु भएको इमान र निष्ठा पूर्वक काम गर्ने बताउनु भयो । उहाँले संसदको सपथग्रहणसँगै भावुक र हर्षित दुबै भएको बताउनुभयो ।
उहाँले इलामका जनताले इलामका समस्या समाधान गर्ने र जनताको हितमा काम गर्न पठाएकाले इलामका जनताको पक्षमा काम गर्ने बताउनुभयो । सांसद् नेम्वाङले इलामको समस्या र विकासका लागि जनप्रतिनिधिको रुपमा ठूलो अवसर दिएकाले अवसरलाई निष्ठापूर्वक निर्वाह गर्ने बताउनु भयो । उहाँले नेपालमा धेरै विकास निर्माण र नीति निर्माणहरु भए पनि प्राविधिक र सुशासनमा कमजोरीको कारणले सबै कामले पूर्णता प्राप्त नगरेको बताउनु भयो । उहाँले समृद्ध नेपाल बनाउनको लागि सबै राजनीतिक दलको एकता आवश्यक रहेको भन्दै संसदको अवरोध संवादको माध्यमबाट हल गर्नु पर्ने बताउनु भयो ।














