भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम सुरु
२ कार्तिक, हेटौँडा । आजदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ ।
भोलीसम्म सञ्चालन हुने कार्यक्रममा महिला स्वास्थ्य स्वंमसेविका मार्फत् ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदैछ ।
कार्यक्रम अन्तर्गत मकवानपुरका ६ महिनादेखि ५ वर्षसम्मका ३२ हजार २ सय ४२ बालबालिकालाई भिटामिन ए खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार २९ हजार १ सय २२ बालबालिकालाई भिटामिन ए का साथै जुकाको औषधि समेत खुवाइनेछ ।
हेटौँडा उपमहानगरपालिकाका १२ हजार ६ सय ६३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदैछ भने ११ हजार ४ सय ५३ जना बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदैछ । भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रमका लागि मकवानपुरमा ४ सय ७२ स्वास्थ्य स्वयंसेविका खटिएका छन् ।














