भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकताः राष्ट्रपति पौडेल
२७ चैत्र, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
संघीय संसदका संयुक्त सदनलाई सम्बोधन गर्दै उहाँले जनताले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तिब्र आकांक्षा राखेको बताउनुभएको हो । राष्ट्रपति पौडेलले सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै निर्वाचन सम्पन्न हुनु सकारात्मक कदम भएको बताउनु भयो ।
भ्रष्टाचारको अन्त्य, विधिको शासन, र दण्डहीनताको अन्त्यका लागि संसदले नागरिक केन्द्रित र जनकल्याणकारी कानून निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्माण भएका कानूनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपतिले न्यायपालिकाबाट हुने न्याय सम्पादन छिटो, छरितो र निष्पक्ष भएमा मात्र शहीदहरूप्रति साँचो सम्मान हुने धारणा व्यक्त गर्नुभयो ।
आजका युवाको चाहना विगतभन्दा फरक र नयाँ रहेको औंल्याउँदै राष्ट्रपतिले परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने बताउनु भयो । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा बदल्न सरकार प्रतिवद्ध रहने उहाँको विश्वास छ ।














