मकवानपुरगढी गाउँपालिका ४ मा निर्माण गरेको समवेल सञ्चालनमा
९ चैत्र, हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले मकवानपुरगढी गाउँपालिका ४ मा निर्माण गरेको समवेल सञ्चालनमा ल्याएको छ ।
हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सिमानामा निर्माण गरिएको २ वटा समवेलको उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सुभारम्भ गरिएको हो । बोर्डको आन्तरिक आम्दानीबाट निर्मित समवेलको प्रति मिनेट १२ सय लिटर पानी उत्पादन गर्ने क्षमता रहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो । समवेल निर्माण भएपछि उपमहानगरपालिकामा खानेपानी आपूर्ति थप सहज बनेको छ । २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको समवेलबाट दैनिक ६० लाख लिटर खानेपानी वितरण हुने अध्यक्ष विष्टको भनाइ छ । हेटौंडा उपमहानगरपालिकाले १० हजार लिटर सम्मको खानेपानी निशुल्क उपलब्ध गराएसँगै बोर्डमा उपभोक्ता समितिहरु हस्तान्तरण हुने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

खानेपानी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरका प्रमुख मिनाकुमारी लामाले स्थानीय तहसँगको समन्वय र साझेदारीमा कार्य गर्दा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । ठूला–ठूला दीर्घकालिन रणनीतिका योजना कार्यान्वयनका लागि तीनै तहको सरकार समन्वय गर्दै जाने उहाँले बताउनुभयो । नगर प्रमुख लामाले खानेपानीको शुद्धता जाँच गर्ने सुविधा समेत उपमहानगरमै उपलब्ध रहेको जानकारी दिनुभयो ।
दैनिक २ करोड ६२ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएकोमा समवेल सुभारम्भ भएसँगै अब दैनिक ३ करोड २२ लाख लिटर खानेपानी वितरण गर्न बोर्ड सफल भएको छ । हाल बोर्डमा १ वटा सतहगत मुहान, ३७ डिप बोरिङ, १३ वटा सम्वेल र ६ हजार चार सय ४९ घनमिटर पानी भण्डारण क्षमता रहेको निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

हेटौंडामा अहिले २६ हजार आठ सय ७५ वटा धाराबाट सरदर दैनिक ७ देखि ८ घण्टासम्म पानी वितरण हुँदै आएको छ । अझैपनि उपमहानगरपालिकाका विकट मानिएको १ चिप्लेटी, बाँसपानी, सेरसिरे डाँडो, ज्यामिरे लगायत क्षेत्रमा पर्याप्त मात्रामा खानेपानी पूरा गर्न नसकिएको बोर्डले जनाएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्म ९४.७३ प्रतिशत पानी महशुल बिलिङ्ग रकम उठाउन सफल भएको छ । कुल ८ करोड ८३ लाख २९ हजनर मध्ये ८ करोड ३६ लाख ७४ हजार महशुल रकम उठाएको छ ।














