मकवानपुरमा पहिलो पटक भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

संवाददाता
२९ भाद्र २०८१, शनिबार १८:०३

२९ भाद्र, हेटौँडा । केशवलाल श्रेष्ठको स्मृतिमा मकवानपुर जिल्लामा पहिलोपटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । संविधान दिवसको अवसर पारेर असोज ३, ४ र ५ गते हुप्राचौरमा रहेको भलिवल कोर्टमा प्रतियोगिता आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ ।
मकवानपुर जिल्लामा भलिवल खेलको गतिविधि बढाउन, भलिवल खेलको विकास गर्न तथा मकवानपुरलाई भलिवल खेल मार्फत् चिनाउन अमूल्य योगदान पुराएका भलिवलका हस्ति एक जुट गराई पुर्नमिलन एवं पूर्नताजगी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समिति सदस्य मनोज लामा स्याङ्नातले बताउनुभयो । प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका सुरक्षा निकायमा कार्यरत बाहेक १ वर्षदेखि मकवानपुरमा रही कार्य गर्दै आएका बाहिरी जिल्लाका कर्मचारी समेत सहभागि हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० वटा टिम सहभागि हुने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क दुई हजार तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद तिस हजार, दोस्रो हुनेले पन्ध्र हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
दैनिक एकजना उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजकका तर्फबाट पुरस्कारको व्यवस्था रहेको नारायणी कलेज एवं तुलसी मेहर आवासीय माध्यामिक विद्यालयका प्राचार्य रघुनाथ खरालले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि करिब १ लाख ५० हजार लाग्ने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*